दफा ८९
प्रमाण लाग्ने लिखत
: सैनिक अदालतबाट कारबाही भएका मुद्दामा देहायका लिखतमा लेखिएका व्यहोरालाई प्रमाणमा लिइनेछ ः-
(क) नियुक्ति हुँदाको समयमा सम्बन्धित व्यक्तिले सिटरोल फाराममा उल्लेख गरेको विवरण,
(ख) सिटरोल फारामको सक्कलै वा सो फाराम जिम्मा रहेको अधिकारीबाट “सक्कल बमोजिम नक्कल दुरुस्त छ” भनी हस्ताक्षर गरी दिएको नक्कल,
(ग) नेपाली सेनामा सेवा गरेको, बर्खास्त भएको वा कार्यभार मुक्त भएको सम्बन्धमा नेपाल सरकारको तर्पबाट प्रधान सेनापति वा निजले तोकेको अधिकृतले हस्ताक्षर गरेको कुनै पत्र, पत्रोत्तर वा अरू लिखतको व्यहोरा,
(घ) नेपाली सेनाको कितावमा दर्ता भएको वा सैनिक आदेश वा नेपाल राजपत्रमा प्रकाशित पदिक वा अरू दज्र्यानीहरूको स्टेटस्, दर्जा र नियुक्ति सम्बन्धी सोही कितावमा दर्ता भएको सैनिक आदेश वा नेपाल राजपत्रमा उल्लिखित व्यहोरा,
(ङ) कमाण्डिङ्ग अधिकृत वा अभिलेख राख्ने जिम्मेवार अधिकृतको हस्ताक्षर भएको पल्टनिया किताव (रेजिमेण्टल बुक) मा उल्लिखित व्यहोरा,
(च) पल्टनिया किताव जिम्मा लिने अधिकृतले सक्कल बमोजिम नक्कल दुरुस्त छ भनी हस्ताक्षरद्वारा प्रमाणित नक्कलमा उल्लिखित व्यहोरा,
(छ) दफा ४२ र ५८ बमोजिमको कसुरको अभियोगमा पुर्पक्ष भइरहेको यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिले कुनै अधिकृत कहाँ वा नेपाली सेनाको कुनै अङ्ग समक्ष आत्मसमर्पण गरेकोछ वा त्यस्ता व्यक्तिलाई कुनै अधिकृत वा यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिले पक्राउ गरेकोछ भने सो सम्बन्धमा त्यस्ता अधिकृत वा त्यस्ता व्यक्तिको वा नेपाली सेनाको त्यस अङ्गको कमाण्डिङ्ग अधिकृतले आत्मसमर्पण गरेको वा पक्राउ भएको ठाउँ, मिति र त्यस व्यक्तिले लगाएको पोशाकको छाँट समेतको वारेमा यथार्थ कुरा खुलाई हस्ताक्षरद्वारा प्रमाणित पत्रमा उल्लिखित व्यहोरा,
(ज) दफा ४२ र ५८ बमोजिमको कसुरको अभियोगमा पुर्पक्ष भइरहेको यस ऐनको क्षेत्राधिकारभित्र पर्ने कुनै व्यक्तिले प्रहरी थानाको प्रमुख समक्ष आत्मसमर्पण गरेको वेलामा वा त्यस्तो व्यक्तिलाई प्रहरी थानाको प्रमुखले पक्राउ गरेको वेलामा त्यस प्रहरी अधिकृतले आत्मसमर्पण गरेको वा पक्राउ भएको ठाउँ, मिति र त्यस व्यक्तिले लगाएको पोशाकको छाँट समेतको वारेमा यथार्थ कुरा खुलाई हस्ताक्षरद्वारा प्रमाणित पत्रमा उल्लिखित व्यहोरा,
(झ) जाँच पड्ताल वा अनुसन्धानको लागि पेश भई कुनै विधिविज्ञान विशेषज्ञ वा विधिविज्ञान प्रयोगशालाबाट रीतपूर्वक प्राप्त प्रतिवेदनमा उल्लिखित व्यहोरा ।